डा. केसीको मुद्दामा आज सुनुवाई हुँदै, केसीका पक्षमा सयजना वकिल !

काठमाण्डौं । अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका डा गोविन्द केसीको मुद्दामा बुधबार सुनुवाई हुँदैछ । मंगलबार बयान सकेपछि बुधबार बिहान १० बजे सुनुवाईका लागि बोलाइएको छ ।

मंगलबार नै सुनुवाई हुने कार्यतालिका रहे पनि बयान लिँदालिँदै समय सकिएपछि बुधबार सुनुवाई हुने भएको हो । बयानको क्रममा डाक्टर केसीले आफूले अदालतको अवहेलना गरेको नभई फैसलाको मात्र आलोचना गरेको बताएका छन् ।

केसीका पक्षमा सयजना वकिल
अदालतको अपहेलना अभियोगमा गिरफ्तार भएका डाक्टर गोबिन्द केसीको पक्षमा सयजना वकिलले वहस गर्न वकालतनामा गराएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजयप्रसाद मिश्र, इन्दु तुलाधर, दिनेश त्रिपाठीलगायत झण्डै सयजना वकिलले उहाँको पक्षमा बहस गर्ने भएका हुन् ।

हिरासतमै अनशन
सर्वोच्च अदालतको आदेशमा मंगलबार बेलुकी पक्राउ परेका डा केसीले हिरासतमै अनशनलाई निरन्तरता दिएका छन् । केसीले माग पूरा नभएसम्म अनसन नछोड्ने अडान राखेका छन् । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामालगायत माग राखेर उनले सोमबार १४ औँ अनशन थालेका हुन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा प्रा. डा. शशि शर्मालाई पुनर्बहाली गराउने सर्वोच्च अदालतको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी उनले सोमबार अनशन सुरु गरेका थिए । उनलाई सोमबार नै अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्