दुई राष्ट्रपतिबिच भेटवार्ता, नेपाल र म्यानमारबिच पर्यटन तथा संस्कृति सम्बन्धी समझदारी
काठमाडौं, असोज ३० । राष्ट्रपति भण्डारी र राष्ट्रपति विनबीच बिहीबार प्रेसिडेन्सियल हाउसमा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । त्यसअघि बिहीबार बिहान सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यान्माको सेनाले सम्मान गारद दिएको थियो ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ ।
राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमणमा हुनुहुन्छ।
यसैबचि नेपाल र म्यानमारबिच पर्यटन तथा संस्कृति सम्बन्धी समझदारी भएको छ । म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा बिहीबार दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
म्यानमारको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तर्रा्ष्ट्रिय सहयोगमन्त्री क्य तीनबिच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो ।
राष्ट्रपति भण्डारी म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार बेलुका म्यानमारको राजधानी नेपित आइपुग्नुभएको थियो । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सु चीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्