रोशनीको कोठामा गएकै हो, तर दुर्व्यवहार गरेको छैन- प्रहरीसँग महराको यस्तो बयान
काठमाडौं , असोज २९ । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू रोशनी शाहीको कोठामा गएको स्वीकार गरेका छन् । साथै महराले प्रहरीसँगको बयानमा आफूले रक्सीको बोतल समेत नलगेको दाबी गरेका छन् ।
‘‘उहाँले म गएको हो भनेर स्वीकार गर्नुभएको छ । महराजीले रोशनीको परिवारसँग पारिवारिक सम्बन्ध हो । कुनै प्रकारको दुर्व्यवहार गरेको छैन भन्नुभएको छ ।’’ एक उच्च प्रहरी अधिकारीले भने । तर, यता रोशनीले भने प्रहरीमा आफूमाथि महराले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दर्ता गरेकी थिइन् ।
अदालतबाट म्याद लिएर प्रहरीले महरामाथि अनुसन्धान गरिरहेको छ । महरालाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न १३ दिनको समय मंगलबार दिएको थियो । यसअघि महराले आफू असोज १२ गते रोशनीको कोठामा नगएको दाबी गर्दै आएका थिए ।
महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।
महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले डिस्चार्ज नगरेकाले उनलाई अदालतबाट अस्पतालमै फर्काइएको छ ।
महरामाथि संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ । महराले सोही प्रकरणमा सभामुखको पदबाट समेत राजीनामा दिनु प¥यो ।
प्रतिक्रिया दिनुहोस्