सांसद साहलाई थप चार दिन हिरासतमा राखिने, रिहा गर्न माग गर्दै राजपाको प्रदर्शन
काठमाडौं, असोज २९ । विमानस्थल तोडफोड गर्ने सांसद साहलाई थप चार दिन हिरासतमा राखिने भएको छ ।
जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।
हिरासतमा रहेका प्रतिनिधिसभा सांसद साहलाई विमानस्थल तोडफोड घटनाको अनुसन्धान गर्न चार दिनको म्याद थप गरिएको हो ।
जिल्ला अदालत धनुषाका न्यायाधीश तीर्थप्रसाद केसीले म्याद थपको अनुमति दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयले घटनाको छानविन गर्न १० दिनको म्याद मागेको थियो । तर ४ दिनको म्याद मात्रै थप गरिएको छ । आरोपित सांसद साहलाई पुनः कात्तिक १ गते जिल्ला अदालत धनुषामा पेश गरिने छ ।
सो अवधिमा अनुसन्धान भइसकेकोमा मुद्दा दर्ता गरि अदालती कारबाही प्रक्रिया अघि बढाइने छ । यदि अनुसन्धान हुन सकेन भने पुनः म्याद थप गरिने अदालतका श्रेस्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए ।
सोमवार काठमाडौ जाने विमान ढिलो भएका कारण सांसद साहले बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए ।
घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरले विमान स्थलमा तोडफोड र विमान संचालनमा बाधा पुरयाएको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । काठमाडामै पक्राउ परेका सांसद साहलाई घटना अनुसन्धानका लागि मंगलवार जनकपुर ल्याइएको थियो ।
रिहा गर्न माग गर्दै राजपाको प्रदर्शन
सांसदलाई रिहा गर्न माग गर्दै राजपाले प्रदर्शन गरेको छ । विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसदलाई रिहा गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले जनकपुरमा प्रदर्शन गरेको छ ।
राजपाका कार्यकर्ताले बुधबार सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले सांसद प्रमोदकुमार साहलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्