नेकपाको चियापानको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, २८ असोज । नेपाल कम्युनिष्ट पार्टीले दसैँ, तिहार, नेपाल संवत्– ११४०, छठलगायत चाडपर्वको उपलक्ष्यमा यही असोज २९ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । यसको लागि सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा यही असोज २९ गते चियापान कार्यक्रा आयोजना गर्ने लागिएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिले जनाएको छ ।


शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा अपराह्न १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्तालाई तथा अपरान्ह ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसद्हरू, संवैधानिक अंगका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सेवा निवृत्त पदाधिकारीहरू, सामाजिक जीवनका विभिन्न विधा, पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएकोे विज्ञप्तिमा उल्लेख छ ।

पार्टीकोतर्फबाट प्रेषित निमन्त्रणा–पत्र प्राप्त हुननसकेको भएमा पनि उक्त शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा गरिमामय उपस्थितिका लागि सम्बद्ध सबैमा निमन्त्रणा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाजमा सदियौंदेखि चलिआएका चाडपर्वले समाजको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्दै आएको र नेपाली–नेपाली बीचको आपसी एकता, सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतालाई प्रवद्र्धन गरिरहेको जनाइएको छ । नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन केन्द्रीय कार्यालयमा चियापान सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्