चीन र भारत दुबै देशसँग सम्बन्ध सुधार्दै अघि बढ्छौंः प्रधानमन्त्री ओली
काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र भारत दुबैसंग सम्बन्ध सुधार्दै अघि बढ्ने बताएका छन् । छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको उनले बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘विश्वमै धेरै जनसंख्या रहेका भारत र चीन पुराना कुरा बिर्सेर आपसी सम्बन्धलाई सुमधुर बनाउँदैछन् । नेपाल पनि सँगसँगै अगाडि बढ्न चाहान्छौँ । एशिया अब कटुताको होइन, पारस्परिक एकता, मानवहित र समृद्धिको बाटोमा अघि बढ्न चाहान्छ ।’ पूर्वीय सभ्यता र संस्कृति उत्कृष्ट र लोभलाग्दो भएको उल्लेख गर्दै उनले यसका राम्रा पक्षहरुको संरक्षण गर्दै जान आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सभ्यता, ज्ञान, खोज र संस्कृतिको जननी एशिया भएकाले यस सम्पन्नतालाई प्रवद्र्धन गर्दै आपसी सहकार्यबाट यी देशको आर्थिक समृद्धि वर्तमानको कार्यभार भएको पनि उल्लेख गरे ।
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अत्यन्तै सफल भएको र राष्ट्रपति सीले नेपाल आउनुअघि भारतको भ्रमण गर्नुभएकाले एशियाका देशहरु कस्तो नयाँ चरणको सम्बन्धको विकास गरिरहेका छन् भन्ने सन्देश दिएको उनले उल्लेख गरे । राष्ट्रपति सीले यही असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।
जारी सम्मेलनका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपालका लागि बङ्गलादेश र पाकिस्तानका राजदूत, संस्कृतिविद् सत्यमोहन जोशीलगायतले सम्मेलन सफलताको कामना गरे । सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सहभागिता हुनेछ ।
सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत हुनेछ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पश्चिमा संस्कृतिको गलत प्रभाव चिरेर एशियाली संस्कृतिको प्रवद्र्धन गर्ने सम्मेलनले सघाउने बताए ।
सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने कार्यक्रम छ ।
असोज ३० चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिकस्थलको भ्रमण गराइनेछ ।
प्रतिक्रिया दिनुहोस्