निलम्बित सांसद आलमलाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप, के हो घटना ?

काठमाडौं, असोज २८ । हत्याको आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई रौटहट जिल्ला अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने म्याद दिएको छ ।

प्रहरीले अनुसन्धानका लागि १० दिनको समय मागे पनि न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ७ दिन थुनामा राखी अनुसन्धान गर्ने अनुमति दिएको हो । यसैबीच आलमले आफूलाई न्यायालयप्रति विश्वास भएको प्रतिक्रिया दिएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै आलमले सबै कुरा समयले नै बताउने भन्दै अदालतप्रति भरोसा रहेको बताएका छन् । आलमलाई प्रहरीले हत्याको अभियोगमा १२ वर्षअछि पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

के हो घटना ?

२०६४ को संविधान सभाको चुनावको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । मोहम्मद अफताब आलमको घर नजिकैको त्यस ठाउँमा विस्फोट हुँदा केही व्यक्तिहरु घाइते भएका थिए । विस्फोटमा परि कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएको यकिन भएको थिएन ।

तर सरुअठाका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्मद अफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सेराजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

सरुअठाको घरमै बसी रहेका त्रिलोकप्रताप सिंहलाई चुनाव प्रचारप्रसारका लागि जाउँ भन्दै शेख भदई बोलाउन आएका थिए । चुनावी प्रचारमा हिँडेका सिंह र अख्तर बम बनाइरहेको स्थानमा घाइते भएको र उनीहरुलाई घाइते अवस्थामै उपचारका लागि लाने भन्दै घाइते केही भारतीय नागरिक समेतलाई नजिकैको इँटा बनाउने चिमनी भट्टामा लगेर जलाइएको आरोप आलममाथि लागेको थियो ।


स्थानीयले समेत त्यतिबेला तत्कालीन प्रहरीले राम्ररी काम गर्न नसकेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्