चितवनमा उपनिर्वाचनः कांग्रेसद्वारा उम्मेदवार तय

काठमाडौं, असोज २७ । नेपाली कांग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेको हो ।

कांग्रेसले यस्तो निर्णय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ ।

कांग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत हुन् ।

यस्तै सोही नगरपालिका–५ को अध्यक्षमा प्रतिमा बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उम्मेदवारका लागि सिफारिस बस्नेत स्वर्गीय वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । यी दुवै नामलाई कांग्रेस वडा समितिले सर्वसम्मतरूपमा जिल्लामा सिफारिस गरेको छ ।


यस्तै कांग्रेसले भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षका लागि पनि उम्मेदवार तय गरेको छ । कांग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ । केही महीनाअघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

स्वर्गीय गुरुङ तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वा्चित भएका थिए । उनले कांग्रेसका उम्मेदवार अमृत हमाललाई पराजित गरेका थिए । अहिले कांग्रेसले पुनः हमाललाई नै उम्मेदवारका लागि सिफारिस गरेको हो ।

उपनिर्वाचनका लागि तीनवटै वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवारको नाम सिफारिस गरेकोले सोही नामहरु अनुमोदन हुने नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए ।
सभापति श्रेष्ठले निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार नै कांग्रेसले उम्मेदवारको नामावली औपचारिकरूपमा घोषणा गरिने बताए ।

खैरहनीको दुवै वडामा यसअघि कांग्रेसले जीत हासिल गरेकाले त्यहाँ पुनः जीत निश्चित जस्तै रहेको जिल्ला सभापति श्रेष्ठले दाबी गरे । काङ्ग्रेसको मुख्य ध्यान भरतपुर–१६ मा केन्द्रित रहेको छ ।
उनले भने, “खैरहनीमा हाम्रो जीत निश्चित जस्तै हो, भरतपुर–१६ मा जीत हासिल गर्ने गरी तयारी गरिरहेका छौँ ।” निर्वाचन आयोगले करीब २ वर्षपछि उपनिर्वाचनको तयारी थालेको हो ।

प्रतिक्रिया दिनुहोस्