जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण २३ जनाको मृत्यु, ६० जना घाइते
काठमाडौं,असोज २७ । जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण २३ जनाको मृत्यु भएपछि उद्धारका लागि २७ सय सेना र सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ ।
आँधीमा ६० जना घाइते भएका छन् भने १७ जना हराईरहेका छन् । राजधानी टोकियो लगायत जापानका बिभिन्न शहरहरु आँधीबाट तहसनहस भएका छन् ।
प्रतिघण्टा २ सय २५ किलोमिटरको दरले आएको आँधी साठी बर्ष यताकै सबैभन्दा खराब मानिएको छ । ७० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील गरिएको छ ।
हालसम्म ५० हजार भन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन् । हवाई सेवा अवरुद्ध हँुदा एक हजार भन्दा बढी उडानहरु प्रभावित भएका छन् ।
बिद्यूत आपूर्ति र रेलवे सेवा समेत अवरुद्ध बनेपछि कलेज र विद्यालयको पठन–पाठन बन्द गरिएको छ । ठाउँ ठाउँमा बिजुलीका पोल र रुखहरु ढल्नुका साथै सयौं सवारी साधनमा ध्वस्त भएका छन् ।
यसैबीच जापानका प्रधानमन्त्री सिन्जो आबेले देशले भोग्नु परेको संकटमा धैर्य धारण गर्न अपील गर्दै सरकारको तर्फबाट सक्दो सहयोग रहने बताएका छन् ।
उनले आँधी प्रभावितहरुलाई उचित राहतको ब्यबस्था गरिने पनि बताएका छन् । मौसमविद्हरुका अनुसार आँधी बिस्तारै पूर्वी तटतर्फ सरेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्