अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण छैन : पूर्वराष्ट्रपति यादव
काठमाडौँ , असोज २६ । पूर्वराष्ट्रपति रामवरण यादवले अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण नभएको बताएका छन् । उनले राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण नभएको बताए हुन् ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले स्वर्गीय गिरिजा प्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण नभएको उलेख्ख गरे ।
तत्कालिन सशस्त्र द्धन्द्धको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उनले वर्तमान नेतामा भने ‘भिजन’ नै स्पष्ट नभएको टिप्पणी गरे ।
उनले भने, ‘अहिलेका नेताहरुमा न हृदय छ । न भिजन छ । होराईजन नै सानो देखिएको छ ।’ पुर्व राष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना , राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनिय रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक विकासक्रम सँगै विकास निर्माण, मेडिकल कलेजको विस्तार तथा समग्र शिक्षा प्रणालीमा गिरिजा प्रसाद कोइरालाको योगदान महत्वपुर्ण रहेको बताए ।
कार्यक्रममा नेताहरु शेखर कोइराला, डाक्टर रामशरण महत, सुजता कोइराला लगायतले स्वर्गीय कोइरालाको योगदानको चर्चा गरेका थिए ।
उनको योगदानको चर्चा गर्दै सबैले यस्तै सिक्न पर्नेमा जोड समेत दिएका थिए । अहिलेको राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण नभएको नेताहरुले टिपण्णी समेत गरेका छन् ।
नेताबाट जुन जनताले आशा गरेर भोट दिएका थिए त्यस्तो आशा जनतामा अझै पुग्न सेकेको छैन ।
प्रतिक्रिया दिनुहोस्