दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी, विमानस्थलमा विशेष सम्मानका साथ बिदाई

काठमाण्डौं, असोज २६ । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता भएका छन् ।


शनिबार बेलुका आएर दुईदिने भ्रमण सकेर उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्रा्ट्रिय विमानस्थलबाट स्वदेश फिर्ता भएका हुन् । उनलाई नेपाल सरकारले विशेष सम्मानका साथ बिदाई गरेको छ ।


उनलाई बिदाइ गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीपरिषद्का सदस्यहरुको सहभागिता रहेको थियो ।

सोल्टी होटेलबाट विमानस्ठल फर्कने क्रममा राषट्रपति सीलाई बिदाइ गर्न सरकारी कर्मचारी, सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो ।

सवारीको समयमा चिनियाँ प्रतिनिधिमण्डल बसेको होटल सोल्टीदेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलसम्मको सडक खालि गराइएको थियो । सोल्टीमोड, कालीमाटी, त्रिपुरेश्वर, तीनकुने, थापाथली,माइतीघर मण्डला, बबरमहल, नयाँ बानेश्वर र सिनामंगलसम्म सीको विदाईका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे ।


समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी शनिबार साँझ काठमाण्डौ आएका थिए । राष्ट्रपति सीलाई स्वागत गर्न उनका समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रिपरिषद्का सदस्यहरु पनि विमानस्थल पुगेका थिए ।


राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग आदानप्रदान गर्न सहयोग पुग्ने नेपाल सरकारले विश्वास लिएको छ । यस अर्थमा पनि सीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो ।

राष्ट्रपति सीको सम्मानमा शनिबार विमानस्थलमा नेपाली सेनाले सम्मानगारत (गार्ड अफ् अनर) पनि प्रदान गरेको थियो । शनिबार नै उनले आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । साथै राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा पनि सी सहभागी भएका थिए ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच १८ ओटा समझदारीपत्र र दुई ओटा ‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षर भएको छ । यसका साथै स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा समझदारी पत्र आदान प्रदान गरिएको छ ।

समझदारी पत्र आदानप्रदान कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दुवै देशका प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्