सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी सहमत

काठमाण्डौ , असोज २६ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच आइबार बिहान सामूहिक भेटवार्ता भएको छ । होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो ।

नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग आग्रह गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा चीनमा आफूहरुले नागरिक र देश सही बाटामा र्डोयाएका कारण नागरिकको अपार समर्थन पाएको र यो सद्भाव नागरिकको सत्ताका रुपमा स्थापित र लोकप्रिय भएको उल्लेख गरे ।


भेटमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति सीले नेपालको राजनीतिक उपलब्धी, विकासको पहल र नेपालको विशेषतासहितको प्रयत्नलाई बधाइ दिनुभएको र चीन नेपालको विकासका प्रयासलाई सहयोग गर्न तत्पर रहेको विश्वास व्यक्त गर्नुभएको जानकारी दिए ।

‘नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ । हामीबीच पहिलेदेखि नै राम्रो सम्बन्ध रहिआएको छ । यसलाई सबै तहमा विश्वास र विस्तार गर्नुपर्छ’, राष्ट्रपति सीले भने, ‘हामीहरुबीचको सम्बन्धलाई सरकार जनता, पार्टीको तहमा अगाडि बढाउनुपर्छ । दुई कम्युनिष्ट पार्टी भएकाले हाम्राबीचको राजनीतिक तहमा सम्बन्धका दायरा र आयामलाई अगाडि बढाउनुपर्छ ।’

चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा शक्ति आर्जन गरेकै आधारमा मात्रै आफूहरु हिँडिरहेको भन्ने नभएको बताउँदै राष्ट्रपति सीले थपे , ‘शक्ति प्राप्त गरेका कारणले मात्रै होइन । कम्युनिष्ट पार्टीले आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्छ । त्यसलाई केन्द्रमा राखेर समाजवाद निर्माण गर्नुपर्छ । चीन र नेपालको बीचमा सकारात्मक पाटो मात्र छैन । चुनौतिका पहाड पनि छन् भन्ने बुझ्दै अगाडि बढ्नुपर्छ, जुन कुरा मैले हिजोको सम्बोधनमा समेत इङ्गित गरेकोे छु ।’

भेटका अवसरमा नेकपाका अध्यक्ष दाहालले चीन र चिनियाँ कम्युनिष्ट पार्टीसँगको मित्रतालाई नेकपाले धेरै महत्व दिएको र एक चीन नीतिप्रति शब्दमा मात्र नभ व्यवहारमा समेत प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष दाहालले भने , ‘चीनको विकासबाट हामी पनि लाभान्वित हुन चाहन्छौँ । नेपाल र नेपाली जनताले त्यसबाट लाभ लिन सक्छन् भन्ने हाम्रो विश्वास छ । तपाईँको नेतृत्वमा चीनले अझै बढी विकास गरी सबल समाजवाद निर्माण गरोस् भन्ने हाम्रो पनि अपेक्षा छ ।’

राष्ट्रपति सी रहनुभएको सोल्टी होटेलमा भएको भेटवार्तामा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए ।

त्यसपछि राष्ट्रपति सीले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग बेग्लै भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत हुनुभएकाले दुई पार्टीका स्तरमा छलफल भएको हो । गएको असोज ७ गते काठमाण्डौमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो । भेटमा राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, अन्य नेता र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिए ।

राष्ट्रपति सी नेतृत्वको प्रमण्डल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित द्विपक्षीय वार्तामा विभिन्न सम्झौता भएको छ । गएको असोज ७ गते सम्पन्न सम्झौतामा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने, वैचारिक र राजनीतिक छलफल तीव्र बनाउने र विकासका ढाँचा आदानप्रदान गर्ने उल्लेख गरिएको छ ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालको उपस्थितिमा भएको सम्झौतापत्रमा नेकपा विदेश विभाग प्रमुख नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका थिए ।

यही अवसरमा सी विचारधाराबारे अन्तरक्रियासमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्