लोकतन्त्रवादी एक भएर अब कम्युनिस्ट एकदलीय शासनविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आयोः केसी
काठमाडौं , असोज १४ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रवादी शक्तिहरुलाई समेटेर कम्यनिस्ट एकदलीय शासनविरुद्ध आन्दोलन गर्न जरुरी रहेको बताएका हुन् ।
नेपाल प्रेस यूनियन, काठमाडौं शाखाले मंगलबार आयोजना गरेको ‘नागरिक अधिकार कार्यान्वयन र नेपालको संविधान’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता केसीले कम्युनिस्ट एकदलीय शासनविरुद्ध लोकतन्त्रवादी शक्ति एक भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।
उनले केपी ओली नेतृत्वको सरकार संवैधानिक ढाँचालाई तोडमरोड गरेर एकदलीय शासन सत्ता लाद्न खोजिरहेको दाबी गरे । सरकारलाई काण्डैकाण्डबाट विभूषित सरकारको संज्ञा दिँदै नेता केसीले भ्रष्टाचारका मुद्दामा जनतामाझ भ्रम सिर्जना गर्न सरकारले कांग्रेस र कांग्रेसका नेताको नाम मुछ्ने गरेको प्रति आपत्ति समेत जनाए ।
साथै उनले सभापति शेरबहादुर देउवाले संसदमै वाइडबडी काण्डको भ्रष्टाचारको मुद्दा उठाएको र पार्टीले पनि उक्त मुद्दाको निष्पक्ष छानविनको माग गरे पनि सरकारले देउवाको नाम मुछेर जनतामा भ्रम सिर्जना गर्न खोजेको बताए ।
“वाइडबडीमा हाम्रो सभापतिको नाम मुछियो । तर, सभापतिजीले संसदमा बोल्नु भयो । केन्द्रीय समितिमा पनि वाइडबडीका बारेमा निर्णय भएको छ,” उनले भने, “तर, सरकार यसका बारेमा छानविन गर्न डराइरहेको छ ।”
।
नेता केसीले भ्रष्टचारका मुद्दामा सभापति देउवाको संमलग्नता पुष्टि गर्नसमेत सरकारलाई चुनौती दिएका छन् । सरकार भ्रष्टचारमा डुब्दै जान थालेको बताउँदै उनले यसमा न्युनिकरण गर्न ध्यान समेत नदिएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्