सभामुख महराले दिए राजीनामा
काठमाडौं, १४ असोज । महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन ।
उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रैबाट दबाब बढेपछि महराले पदबाट राजीनामा दिएका हुन ।
महराले घटनाको निष्पक्ष छानविन होस भनेर राजीनामा दिएको बताए । उनले भने, ‘ममाथि झुटो आरोप लगाइएको छ यसको निष्पक्ष छानविन होस भनेर राजीनामा दिएको हुँ ।’
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन सुझाव दिएका थिए । ओली र प्रचण्डले सभामुख मुछिएको घटनाले सरकार र नेकपाको समेत बदनामी हुनसक्ने भन्दै राजीनामा दिन सुझाव दिएका हुन ।
महराले नेकपाका शिर्ष नेताहरुलाई सम्पर्क गरी आफूलाई फसाउन खोजिएको बताएका थिए । तर, अध्यक्षहरु ओली र प्रचण्डले घटना संवेदनशील भएको र सरकार र पार्टीलाई बदनाम गर्न खोज्नेहरु सक्रिय हुनसक्ने भन्दै राजीनामाका लागि सुझाव दिएका थिए ।
तीनकुनेस्थित एक महिलाको डेरामा पुगेर उनले जर्बजस्ती गरेको खबर बाहिर आएपछि सभामुख समस्यामा परेका थिए । उनले जर्बजस्ती नभएको दाबी गरेर प्रेस विज्ञप्ति निकाल्न समेत लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्