डा. केसीलाई बयानका लागि अदालत पुर्‍याइयो

काठमाडौं । अदालतको अपहेलना अभियोगमा सर्वोच्चको आदेश अनुसार पक्राउ परेका डा. गोविन्द केसीलाई बयानमा लागि सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। विहान ९ बजे प्रहरीले केसीलाई अदालतमा उपस्थित गराएको हो। सोमबार न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासको आदेश अनुसार केसीलाई गएराति अनशन स्थलबाटै पक्राउ गरिएको थियो।

सर्वोच्च प्रशासनले केसीको बयान सुरु गरेको छ। बयान नसकिएमा निरन्तर रहनेछ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक पटक अनशनमा बस्दै आएका केसीले पछिल्लो पटक गत आइतबार सर्वोच्चले गरेको एक फैसलाको आलोचना गर्दै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट रहेको भन्दै बर्खास्त गर्न माग गरेका थिए। चार वर्षअघि आइओएमको डीनबाट हटाइएका डा. शशी शर्मालाई प्रधानन्यायाधीश पराजुली समेतको इजलासले पुनर्वहालीको आदेश गरेपछि केसीले उक्त आदेशविरुद्ध अनशन सुरु गरेका थिए।

अनशन सुरु गरेकै दिन केसीले मिडियामा दिएका अभिव्यक्तिकै आधारमा सर्वोच्च प्रशासनले केसीविरुद्ध टिप्पणी उठाइ अपहेलना मुद्दा दर्ता गरेको थियो। सोमबारकै पुरक पेशीमा मुद्दाको सुनुवाइ गरी १७ घन्टाभित्र अदालतमा बयानका लागि हाजिर गराउन लिखित आदेश गरेको थियो।

पक्राउ परेका डा. केसीले भने आफ्नो अनशन पक्राउपछि पनि जारी रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्