नेकपा कार्यकर्ताद्वारा मिनेन्द्र रिजालमाथि हतियार, ढुंगा र लाठीको आक्रमण प्रयास

काठमाडौं, असोज १२ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ता आक्रमणको प्रयास गरेका छन् । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि गएका उनीलाई आक्रमणको प्रयास भएको हो ।

सदरमुकाम दमौलीबाट रिसिङ गाउपालिका जाने बाटोमा सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले नेता डा. रिजालमाथि आक्रमणको प्रयास गरेका हुन् ।

नेकपाका कार्यकर्ताहरुले उनलाई गाउँपालिका कार्यालय जान नदिन बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको बताइएको छ । बाह्रखरीसँगको कुराकानीमा नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताहरुले हतियार र लाठीले आक्रमण गर्न खोजेको प्रतिक्रिया दिएका छन् ।

“४–५ ठाउँमा रुख ढालेर, बाटोमा ढुंगा राखेर अवरोध सिर्जना गरेका थिए । हतियार, ढुंगा, लाठीसहित आक्रमण गरे,” उनले भने, “साथीहरुले जोगाउनुभयो । बचियो । प्रहरी प्रशासनको आडमा उनीहरु आक्रमणमा उत्रिए ।” नेकपाका कार्यकर्ताहरुले अवरोध गरे पनि नेता रिजाल स्थानीय नेता(कार्यकर्ताहरुका साथ अहिले गाउँपालिका कार्यालय पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्