सिडिओसहितको टोली पुग्यो नौबिसे–नागढुङ्गा सडक अनुगमनमा
काठमाडौँ , असोज ११ । v काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालसहितको टोलीले नौबिसे–नागढुङ्गा सडकको स्थलगत निरीक्षण गरेका छन् ।
पछिल्लो केही दिनयता नौबिसे–नागढुङ्गा सडकमा भयानक सवारी जाम भएको समाचार आएपछि टोली अनुगमनमा पुगेको हो ।
सिडिओ दाहालसँगै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकाल र यातायात व्यवस्था विभागका निर्देशक तीर्थ निरौलाको टोलीले नौबिसे–नागढुङ्गा सडकको स्थलगत निरीक्षण गरेका हुन् ।
अनुगमनको क्रममा सिडिओ दाहालले गल्छीबाट काठमाडौँ आइरहेको एक दर्जनभन्दा बढी ठूला ट्रकका चालकहरुलाई नागढुङ्गा आउन कति समय लाग्दोरहेछ भनेर चासो राखेका थिए । प्रायः सबै ट्रक चालकले २ देखि ३ घण्टाभित्र आइपुगेको जानकारी दिएको एसएसपी ढकालले बताए ।
अनुगमनको क्रममा सिडिओ दाहालले साँघुरो बाटो र पानी परेका कारण २, ३ घण्टा जाम भएको स्वीकार गरेका छन् । उनले भने, ‘सवारी जाम व्यवस्थापनको लागि फिल्डमा प्रहरी परिचलान गर्नेदेखि र्याकर, डोजरसम्म स्ट्यान्डबाई राखिएको छ ।’
यतिबेला नौबिसे–नागढुङ्गा सडकमा सवारी साधनको फ्लो राम्रोसँग भइरहेको उनले बताए । उनले भने, ‘यसरी नै यही फ्लोलाई निरन्तरता दिन सबै निकायलाई आदेश दिएको छु ।’
दशैंको बेला भएर पहिलाको तुलनामा सडकमा सवारीको जाम बढेको भन्दै अनुगमनमा पुगेका डीआईजी क्षत्रीले जनताले महशुस हुने गरी जाम हटाउन नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचलान भएको जानकारी दिए ।
केहि दिन यता यो सडकमा अध्याधिम जाम रहेको थियो । यस्तो जाम हुँदा पनि सरकारले चासो नदिएको भन्दै जनताले आफ्ना गुनासा पोखेका थिए । दशैं तथा तिहार जस्ता ठुला चाडपर्वमा यसरी जाम हुँदा निकै सास्ती यात्रुहरुले भोग्नु परेको थियो ।
प्रतिक्रिया दिनुहोस्