‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं, असोज ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुने बताएका छन् । उनले विधेयक’ परिमार्जन हुनमा निश्चिन्त हुन पनि संचारकर्मीहरुलाई आग्रह गरे ।

अध्यक्ष दाहालले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक उभिएको दावी पनि गरे ।

‘प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावना विपरित हुन्छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘संसदमा पेश गरिएका चालू विधेयकलाई परिमार्जन गर्ने, संशोधन गर्ने र त्यसलाई संविधानको भावना र मर्म अनुसार नै बनाउने कुरामा आफ्नो पार्टी दृढ रहेको विश्वास म संचारकर्मी साथीहरुलाई दिलाउन चाहान्छु ।’

अध्यक्ष दाहालले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि दोहोर्याए ।

अध्यक्ष दाहालले पूर्ण प्रेस स्वतन्त्रताको अर्थ फेरी अराजकता होइन, उदण्डता होईन भन्ने कुरामा बढि ध्यान दिने काम संचारकर्मीहरुले नै गर्नुपर्ने पनि स्पष्ट पारे ।

पत्रकारिता क्षेत्रलाई राज्यले नियन्त्रण र नियमन गर्ने भन्दा पनि पत्रकार स्वयम्ले आफ्ना लागि कस्ता मूल्य र मान्यता आवश्यक पर्छ ? भनेर गम्भिर भएर सोच्नुपर्ने बेला आएको पनि अध्यक्ष दाहालको भनाइ थियो । ‘मिडिया काउन्सिल विधेयक’ लाई लिएर विवाद समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्