‘वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल, आउँदो चुनावमा कम्युनिष्ट सरकार ढाल्ने गरी अघि बढ्नुहोस् ’

काठमाण्डौ , असोज ११ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भइसकेको दाबी गरेका छन् ।


पूर्व प्रधानमन्त्रीसमेत रहेका भएका सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, नागरिकलाई दशैँमा सामान किनमेल गर्न समेत नसक्ने गरी महँगी बढाउने काम सरकारले गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

बडादशैँको अवसर पारेर पार्टीले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भइरहेको दाबी पनि गरे ।

‘ओली सरकार नेपालमा सबैभन्दा असफल सरकार सावित भएको छ’, सभापति देउवाको दाबी थियो, ‘अति धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन्, यति महँगी सरकारले बढाएको छ कि जनताले दशैंँ खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’ सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।

सभापति देउवाले प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैह्य नहुने चेतावनी पनि दिए । उनले पार्टी्भित्रको अन्तरघातकै कारण चुनावमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तरघातमुक्त पार्टी निर्माणमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी चुनावमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गरे । नेपाली कांग्रेसलाई निर्वाचनमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने भए पनि अन्तरघातका कारण हार्नु परेको दाबी गर्दै सभापति देउवाले आउँदो चुनावमा विजयी हुने गरी पार्टीको कामलाई अघि बढाउन सिंगो पार्टी पंक्तिले प्रतिज्ञा गर्नुपर्ने पनि बताए ।


कांग्रेस नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए । नेपाललाई कम्बोडियामा जस्तो तानाशाही व्यवस्था ल्याउन सरकारले खोजिरहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने पनि उनको चेतावनी छ ।

नेता थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार काठमाण्डौमा कम्युनिष्ट पार्टी मात्रै नेपालमा रहने दिने अभिव्यक्ति दिएकोमा आपत्ति जनाउँदै सिंहको गर्जनका साथ कम्युनिष्ट पार्टी आए काँग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्ने दृढता पनि व्यक्त गरे ।

नेता थापाले सरकारले लोकतन्त्र विरोधी गतिविधिलाई अघि बढाएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्