नागढुंगामा नसोचेकै जाम ! यात्रु भन्छन् – ‘सरकार रेल ल्याउँछु भन्छ, यहाँ गाडीकै रेल बनिसक्यो ।’

१० असोज, काठमाडौं । दशैंको मुखैमा आएर यति बेला घर फर्किने हजारौं यात्रुहरु काठमाडौं छिर्ने प्रमुख नाका नागढुंगामा ९ घन्टासम्म जाममा फस्न बाध्य भएका छन् ।

राजधानी काठमाडौं छिर्ने प्रमुख नाका नागढुंगामा एक हप्तादेखि अत्यासलाग्दो जाम छ । दशैंमा घर फर्किने हजारौं यात्रुहरु लामो समय सम्म यसरी जाममा फसेर निसास्सिएका छन् ।

जाम यति भयानक छ कि नौबिसेबाट काठमाडौं आइपुग्न १० घण्टासम्म लागेको छ । यसले यात्रु मात्र होइन, सवारीचालकदेखि प्रहरी पनि दिक्क छन् ।

नागढुंगादेखि झ्याप्ले खोलासम्म नै गाडीको जाम छ । गएको चार पाँच दिनदेखि यो सडकखण्डमा लामो जाम हुँदै आएको छ । यात्रुहरु घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।

‘माथिबाट गाडीको लस्कर हेर्दा त रेलजस्तै देखिन्छ है ?’ जाममा फसेको बसबाट बाहिर निस्किएका एक यात्रीले पसिना पुछ्दै भने, ‘सरकार रेल ल्याउँछु भन्छ, यहाँ गाडीकै रेल बनिसक्यो ।’

‘ल है खुल्यो,’ भन्दै गाडीका सहचालकले बोलाउँछन् । सडकमा निस्केका यात्रुहरु खुशी हुँदै गुरुरु गाडीभित्र पस्छन् । गाडी २० मिटरजति अघि बढ्छ अनि, रोकिन्छ । यात्रुहरु फेरि विरक्त हुँदै बाहिर निस्किन्छन् । यो क्रम बारम्बार चलिरहन्छ । यो खण्डमा ।

देशमा सरकार छ जस्तो पटक्कै नलागेको यात्रुले अनुभव गरेका छन् ।

‘३० किलोमिटरको जाम छिचोल्न ११ घण्टा लाग्ने देशमा सरकार छ भन्नु नै बेकार छ,’ उनीहरु भन्छन्, ‘यहाँ प्राकृतिक विपद पनि आइलागेको छैन, यस्तो उदेकलाग्दो अवस्था आउँदा जनताप्रति उत्तरदायी कोही पनि हुनुनपर्ने ? देश भनेको सिहंदरबार मात्रै हो ?’

यसैगरि सवारीचालकको पीडा आफ्नै छ भने यस्तो जामले प्रहरीलाई पनि निकै सास्ती भएको छ ।

प्रहरीलाई पनि यो बाटोमा कम्ता सास्ती छैन । नागढुंगाबाट खटिएको प्रहरी टोली उकालोका विभिन्न भागमा सवारी व्यवस्थापन त गर्दैछ, तर जाम एक प्रतिशत घट्दैन । कारण हो, जीर्ण सडक ।

नागढुंगाको सडक दुई लेनको मात्रै छ । उकालो लाग्ने भागतर्फ चक्का बस्ने ठाउँमा २ फिटसम्मका खाडल परेका छन् । साना सवारीलाई त यो सडक अफरोडभन्दा खराब छ ।

ठूला सवारीहरु लोड बोकेर उकालो लाग्दा कति ठाउँमा चिप्लिएर ब्याक सर्छन् । धेरै माल बोकेर आएका सवारीसाधन विभिन्न ठाउँमा अघि बढ्न नसकेर रोकिन्छन् । त्यसकै असरले जाम विकराल बन्दो छ । अब दशैंअघि यो समस्या घट्ने हैन, बढ्ने अवस्था देखिएको सडक विभागकै अधिकारी बताउँछन् ।

जाम बढ्दै गए पनि यातायात व्यवस्था विभाग र सडक विभागले खुलाउन खासै प्रयास गरेका छैनन । दुवैले एक अर्कोलाई देखाउँदै पन्छिने काम गरेका छन् । यातायात व्यवस्थ विभागका प्रवक्ता तीर्थराज खनालले सडक मर्मतदेखि सबै हेर्ने जिम्मेवारी सडक विभागको रहेको प्रतिक्रिया दिनुभएको छ भने सडक विभागले समन्वयकै अभाव रहेको जनाएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने शनिबारदेखि जाम हट्ने दावी गरेका छन् । उनका अनुसार शुक्रबारदेखि नै अति आवश्यक बाहेकका ठूला मालवाहक गाडीलाई यो सडकखण्डमा निश्चित समयमा मात्र चलाउन दिइएको छ ।

बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म मात्रै ठूला मालबाहक ट्रक यो सडकमा गुड्न पाउनेछन् । यात्रुबाहक बस, औषधि, तरकारी र पशु चौपाया बोकेका गाडी भने जुनसुकै समयमा गुड्न पाउने छन् । शुक्रबारदेखि दशैँसम्म यात्रु बोकेका बसको ओहोरदोहोरका लागि जिल्ला प्रशासन धादिङले यो नियम लगाएको हो ।

यस्तै सडक मर्मतका कारण पनि जाम बढेकाले सडक बनाउने काम पनि स्थगित गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाण्डौबाट बाहिरिने गाडीलाई प्राथमिकतामा राखेर नागडढुंगा नाकाबाट पास गराइएको छ ।

यसैबीच, दशैँको किनमेल बढेकाले काठमाण्डौ उपत्यकामा पनि जाम बढेको छ । विशेषगरी जमल, माइतीघर, केशरमहल न्यूरोड लगायत ठाउँमा जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । अरु दिन भन्दा आज अत्याधिक जाम बढेको छ । अरु बेला त्यति चहलपहल नभएको काठमाडौं हिजो आज साचिकै चलमलाएको छ । दशैं तथा तिहारले गर्दा ।

प्रतिक्रिया दिनुहोस्