गर्मी भएको भन्दै एक महिला यात्रुले जहाजको आकस्मिक ढोका खोलेपछि…

काठमाडौं, असोज ९ । एक महिला यात्रुले उड्नै लागेको जहाजको ढोका खोलेपछि पक्राउ परेकी छन्। यो खबर चिनको हो ।

जहाजभित्र गर्मीले उकुसमुकुस भएपछि सोमबार एक महिला यात्रुले जामेन एयरलाइनसको एमएफ ८२१५ को जहाजको आकस्मिक ढोका खोलेकी थिइन्।

ती यात्रुले स्वच्छ हावा लिन जहाजको ढोका खोलेको प्रतिक्रिया दिएकी छन्। जहाज स्थानीय समयअनुसार अपरान्ह पौने ४ बजे बोर्डिङका सबै काम सकेर लान्चोउका लागि उड्ने तरखरमा थियो।

यात्रुले ढोका खोलिदिएपछि जहाजको उडान एक घण्टा ढिलो भएको थियो। ती महिलालाई विमानस्थलका प्रहरीले पक्राउ गरेका थिए। तर प्रहरीले ती यात्रुको नाम र ठेगाना भने खुलाएको छैन।

यात्रुले जहाजको ढोका खोलेको भिडिओ हिजोआज सामाजिक सञ्जालमा चर्चामा छ। उक्त भिडिओ १८ मिलियन पटक हेरिएको छ।

चीनमा यस्तो घटना यो पहिलो होइन। यसअघि सन् २०१४ डिसेम्बरमा पनि यस्तै घटना हुँदा एक पुरूष पक्राउ परेको डेलीमेलले उल्लेख गरेको छ। सन् २०१७ मा चीनकै सांघाईमा एक महिलाले सुरक्षित यात्राका लागि भन्दै जहाजमा सिक्का फ्याँकेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्