नेपाल–भारत व्यापार घाटा: न्यूनीकरणबारे दिल्लीमा छलफल हुँदै
काठमाडौं, असोज ९ । नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि भारतीय बजारमा सहज पहुँच, गैरभन्सार अवरोध न्यूनीकरण र नाकामा पूर्वाधार सुधार लगायत प्रमुख एजेन्डामा छलफल गर्ने गरी नेपाल–भारतबीचको वाणिज्य सन्धि पुनरावलोकनका लागि तेस्रो चरणको बैठक बिहीबारबाट नयाँ दिल्लीमा सुरु हुँदै छ ।
दुई दिनसम्म चल्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा नौ सदस्यीय नेपाली टोली सहभागी हुँदै छ ।
बैठकले अघिल्लो वर्ष फागुनमा पोखरामा भएको समितिको दोस्रो बैठकमा भएका एजेन्डाहरुलाई अन्तिम रुप दिने विश्वास गरिएको छ ।
दिल्लीमा दुई दिनसम्म चल्ने बैठकमा नेपाली टोलीले भारतीय बजारमा नेपाली उत्पादनको पहुँच विस्तारको विषयलाई उठाउने तयारी गरेको स्रोतको भनाइ छ ।
कृषि लगायत भारतका प्राथमिक उत्पादनले पारस्परिकताका आधारमा पाउँदै आएको शून्य भन्सारको सुविधा हटाउने विषयमा पनि बैठकमा छलफल हुने भएको छ । नेपालले यो सुविधाका कारण नेपालको कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको र भारतीय उत्पादनको आयात बढ्न गई व्यापार घाटा बढाएको तर्क राख्दै आएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्