इन्डोनेसियामा विवाहअघि यौन सम्पर्क राख्न नपाउने विधेयकको विरोधमा प्रदर्शन

काठमाडौं, असोज ८ । इन्डोनेसियामा विवाहअघि यौन सम्पर्क राख्न नपाउने विधेयकविरूद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

यस विधेयक विरूद्धमा विद्यार्थीहरूले तीन दिनदेखि इन्डोनेसियाका विभिन्न ठाउँमा आन्दोलन गरिरहेका छन्।

नयाँ अपराध विधेयकमा विवाहअघि यौन सम्पर्क राखे एक वर्ष जेल चलान र विवाहअघि सँगै बसे ६ महिना जेल चलान गरिने उल्लेख गरिएको छ।

गैरकानुनी रूपमा गर्भपतन गराएमा ४ वर्षसम्म जेल हुने विधेयकमा उल्लेख गरिएको बिबिसीले जनाएको छ।

उक्त विधेयक मंगलबार संसद पेश गर्ने भने पनि केही त्रुटि रहेको भन्दै राष्ट्रपति जोको विडोडोले शुक्रबारका लागि स्थगित गरेका छन्।

आन्दोलनको क्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीनसय बढी घाइते समेत भएका छन्।

घाइते हुनेमा २६५ जना विद्यार्थी र ३९ जना प्रहरी रहेको रोयटर्सले जनाएको छ।

प्रदर्शनकारीलाई तितरवितर पार्नको लागि प्रहरीले टियर ग्यास र पानीको फोहरासमेत प्रहार गरेको थियो।

त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्य संस्था र राष्ट्रिय झण्डा र राष्ट्रगानलाई अपमान गरे त्यसलाई गैरकानुन मानिनेछ।
इन्डोनेसिया सरकारले सुरक्षाका लागि ५ हजार प्रहरीलाई तैनाथ गरेको छ।

प्रतिक्रिया दिनुहोस्