डा केसीले दिए सत्याग्रह थाल्ने चेतावनीः विद्यार्थीहरुबाट असुलिएको अबा रकम फिर्ता गर्न माग

काठमाडौं, असोज ८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले फेरिसत्याग्रह थाल्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट असुलेको अर्बौं अवैध रुपैयाँ तत्काल रकम फिर्ता गराउन माग गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।


बुधबार विज्ञप्ति निकाली डा. केसीले विद्यार्थीबाट असुलिएको रकम फिर्ता गराएर दोषी मेडिकल कलेजहरुलाई कारबाही गर्न पनि माग गरेका छन् ।

डा केसीले आफुसँग भएको सम्झौता अनुसारका माग पूरा नभए कुनै पनि बेला सत्याग्रहसहितको विरोध कार्यक्रम शुरु गर्ने चेतावनी समेत दिएका छन् ।

उनले चिकित्सा शिक्षा ऐनलाई संशोधन गरेर ऐनलाई विद्यार्थी र जनतामुखी बनाउन पनि भनेका छन् । डा. केसीले चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्त भइसकेकाले अब आयोगको ऐन परिमार्जन गर्नुपर्ने पनि बताएका छन् ।

नयाँ शैक्षिक सत्रको शुल्क र सिट निर्धारण माथेमा कार्यदलको प्रतिवेदन अनुसार नै हुनुपर्ने माग पनि उनले राखेका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमडीजीपीको पढाइ थाल्न र आफुसँग यसअघि भएको सम्झौता अनुसार सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्न पनि डा केसीले माग गरेका छन् ।

डा. केसीले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवण्डाबाट नभई पीडितहरुको विश्वास जित्न सक्ने विज्ञहरु नियुक्त गर्न सुझाव दिएका छन् । उनले गम्भीर तथा मानवताविरुद्धका अपराधका दोषीहरुलाई अन्तर्रा्ष्ट्रिय कानुनअनुसार कारवाही सुनिश्चित गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्