भुलवश मासुको प्रचार सामग्रीमा गाईको तस्बिर पर्न गएको भन्दै पशु सेवा विभागले माग्यो माफी

काठमाडौं । भुलवश मासुको प्रचार सामग्रीमा गाईको तस्बिर पर्न गएको भन्दै पशु सेवा विभागले माफी मागेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले पशुपंक्षीजन्य उत्पादनको उपभोगलाई गुणस्तरीय बनाउन तयार पारिएको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको तस्बिर राखिएकोप्रति क्षमा मागेको छ ।

मासुजन्य पदार्थको उपभोगलाई गुणस्तरीय बनाउन तयार पारिएको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको तस्बिर राखिएको भन्दै सर्वसाधारणले व्यापक विरोध गरेपछि विभागले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर क्षमा मागेको हो ।

“हाल उक्त त्रुटि सच्याईसकिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको र त्रुटिप्रति पशु सेवा विभाग हार्दिक क्षमा याचना गर्दछ,” विभागका महानिर्देशक डा. वंशी शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले विज्ञप्तिमार्फत् नै प्रचार–प्रसारका लागि तयार पारिएका पोस्टरहरुमध्ये एउटा पोस्टरमा छपाईको त्रुटिका कारणले गाईको तस्बिर भूलवश पर्न गएको पनि बताएका छन् ।

राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनको बा २ झ ३८११ नम्बरको भ्यानमा पशुपंक्षीजन्य उत्पादनहरुको उत्पादन, प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने उद्देश्यले टाँसिएको पोस्टरमा राष्ट्रिय जनावर गाईको तस्बिर देखिएपछि सामाजिक सञ्जालमा विभागको व्यापक आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्