कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल
काठमाडौं, असोज ५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन आग्रह गरेकी छन् ।
उनले स्थानीय जनप्रतिनिधिहरूलाई यस्तो आग्रह गरेकी हुन् ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडले मन्त्रालयको सहयोगमा ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आइतबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
मन्त्री अर्यालले योजना बाँडफाँडका क्रममा हुने गरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सही रुपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरिन ।
‘योजना माग्न आउँदा कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस् । काम गर्नेले पाउँदैन । कागज बनाउनेले पाउँछ, निजी स्वार्थमा प्रयोग गर्छ । सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउँदैनन् । किनकि उसको नेतासँग पहुँच नै छैन र उ दिनदिनै आउन पनि भ्याउँदैन, अनि भेट्न पनि सक्दैन’, मन्त्री अर्यालले भनीन् ।
जनताको अपेक्षा पनि यही भएको भन्दै उहाँले अहिले सरकार ठिक शैलीमा अघि बढिरहेको र निराश हुनुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।
नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको लोकतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले जनताको मन जित्न नसेकामा जनतामा आशंका र अविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताइन् ।
प्रतिक्रिया दिनुहोस्