कीर्तिपुर आउँदा माइती आएजस्तो लाग्छ : प्रचण्ड

काठमाडौं, असोज ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कीर्तिपुर आउँदा आफूलाई माइती आएजस्तो लाग्ने बताएका छन्।


शनिबार कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले कीर्तिपुर र पाँगाबारे आफ्नो पुराना अनुभव स्मरण गरे। उनले कीर्तिपुरको प्रशंसामा पनि शब्द खर्चिए।

’म जतिबेला युवा थिएँ, त्यतिबेला मेरो लागि कीर्तिपुर र पाँगा भनेको आउनेजाने, बस्ने र धेरै कुरा सिक्ने ठाउँ थियो’, प्रचण्डले भने, ’त्यसैले कीर्तिपुर आउँदा, अझ पाँगा आउँदा मलाई माइती आएजस्तो लाग्छ। मेरो माइतीघर नै हो भनेजस्तो लाग्छ।’

उनले पञ्चायतविरोधी आन्दोलनका बेला आफू कीर्तिपुरमा भूमिगत रुपमा बसेको, भूमिगत रुपमा प्रशिक्षणहरु चलाएको, संगठनहरु सञ्चालन गरेको र जनतासँग अन्तरक्रिया गरेको स्मरण गरे।

माओवादी नेतृत्वको १० वर्षे सशस्त्र संघर्ष र जनआन्दोलनपछि २०६४ सालामा भएको पहिलो संविधानसभा चुनावमा पनि प्रचण्डले कीर्तिपुरसमेत रहेको काठमाडौं १० बाट चुनाव जितेका थिए। शनिबार प्रचण्डले त्यसको पनि स्मरण गरे।

’पहिलो संविधानको निर्वाचन लड्ने थलो पनि यही कीर्तिपुर नै हुन आइपुग्यो’, उनले भने, ’तपाईंहरुकै भरोसा र विश्वासले म यहाँबाट निर्वा्चित भएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर पनि मलाई प्राप्त भयो।’

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा भने प्रचण्ड सो क्षेत्रबाट पराजित भएका थिए। दुई ठाउँबाट प्रतिस्पर्धी बनेका उनले सिरहाबाट चुनाव जितेका थिए।

प्रतिक्रिया दिनुहोस्