संविधानले दिएको अधिकार व्यवहारमा उतार्न निकै चुनौती : मुख्यमन्त्री राई
काठमाडौं, असोज ३ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संविधानले दिएको अधिकार व्यवहारमा उतार्न चुनौती रहेको बताएका छन् ।
चौथो संविधान दिवसका प्रदेश १ सरकारले विशेष कार्यक्रम गरी मनाएको छ । यसै अवसरमा उनले यस्तो बताएका हुन् ।
संविधान दिवस मनाउने तीन दिने कार्य योजना अनुसार शुक्रबार विराटनगरको शहीद रंगशालामा औपचचारिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा राईले संविधानले व्यवस्था गरेको जनताका अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने चुनौती भएको बताए । ‘संविधान प्रदत्त जनताका हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु यति खेरको आवश्यकता र चुनौती पनि हो’ उनले भने ‘ संविधान स्वतः आफैं कार्यान्वयन हुने होइन । नीति, नियम, कानून, योजना, पद्धति र संस्कारको माध्यमबाट यसको व्यवहारिक कार्यान्वयन हुने हो । प्रदेश सरकार संविधानलाई व्यवहारमा लागु गर्ने कसरतमा छ, यो अभ्यास जारी छ ।’
मुख्यमन्त्री राईले चौथो संविधान दिवस मनाइरहदा देशमा राष्ट्रिय एकता दरिलो भएको दावी गरे । संविधान दिवसको अवसरमा ठुला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने काम भएको बताउँदै उनले सबैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद नरहेको प्रष्ट पारेको बताए ।
‘हामी तपाई र सबैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद छैन हामी सबै एक छौ, एक रहन चाहन्छौ भन्ने स्पष्ट गर्दछ’, मुख्यमन्त्री राईले भने ‘यसले नेपालको राष्ट्रिय एकता दरिलो छ, सशक्त छ, अविचलित छ भन्ने सन्देश दिएको छ ।’
यसैबीच संविधान दिवस विशेष कार्यक्रमका अवसरमा प्रदेश सरकारले तीनजनालाई सम्मान पनि गरेको छ । विभिन्न तीन विधामा योगदान पु¥याउने प्रदेश १ का तीनजनालाई सम्मान गरेको हो ।
सम्मान्न हुनेमा प्रदेश १ सरकारले राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला (प्रदिपकुमार राई) २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पर्वतारोही कामिरिता शेर्पा र धाविका मिरा राई रहेका छन् । उनलार्ई जनही पाँच–पाँच लाख नगद सहित सम्मान गरिएको छ ।
मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातजातीको झाँकी, विद्यार्थी, नेपाल प्रहरी ससत्र प्रहरी र नेपाली सेनाको टोलीले मार्च पास गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्