नेविसंघले सरकारविरुद्ध आन्दोलन चर्काउने, देउवालाई दियो ७२ घण्टे अल्टिमेटम

काठमाडौँ – नेपाल विद्यार्थी संघ नेविसंघ ले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध आन्दोलन चर्काउने भएको छ। नेविसंघले विद्यार्थीहरुको पक्षमा विगतमा उठाएको माग ७२ घण्टाभित्र सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम विस्फोटमा परी घाइते नेविसंघकी केन्द्रिय सदस्य मिरा कटुवालको उपचार खर्च समेत सरकारले उपलब्ध नगराएकोमा आक्रोश समेत व्यक्त गरेका थिए।

नेविसंघले उच्च शिक्षामा सबैको पहुँच पुर्‍याउन सर्टिफिकेट धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्न, सबै स्थानीय तहमा प्राविधिक शिक्षाको व्यवस्था गर्न, देशभरका सबै शैक्षिक संस्थाहरुमा इलाइब्रेरीको व्यवस्था गर्न, विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको थियो।

यिनै मागहरु अबको ७२ घण्टाभित्र पनि पूरा नभए सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने जानकारी प्रधानमन्त्री देउवालाई गराइएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

नेविसंघले जाडोका कारण देशका विभिन्न जिल्लामा हुन सक्ने महामारीलाई समयमै रोकथाम गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। नेविसंघले आफ्ना मागहरु पूरा गराउन सोमबारबाटै दबाबस्वरुप हस्ताक्षर अभियान पनि सुरु गरेको छ। उनीहरुले माग सम्बोधन नगरे सरकारविरुद्ध आमरण अनसन समेत बस्न बाध्य हुने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्