अन्तिममा आएर संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
काठमाडौं, असोज २ । संघीय संसदको चालू अधिवेशन आज अन्त्य गरिँदैछ ।
बजेट अधिवेशन अन्त्यअघि दिउँसो साढे २ बजे प्रधानमन्त्रीले ओलीले संघीय संसदलाई सम्बोधन गर्ने भनिएपनि अन्तिम समयमा आएर स्थगित भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले संविधान दिवसका दिन शुक्रबार प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले बिहीबार संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको जानकारी दिए ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गर्दै सदर गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको थियो ।
आज राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि बजेट अधिवेशन अन्त्य हुने संसद सचिवालयले जनाएको छ ।
अधिवेशन अन्त्यअघि संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले दलीय आधारमा सम्बोधन गरिरहेका छन् ।
बजेट अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । बजेट र केही महत्वपूर्ण विधेयकहरु पारित भएका छन् ।
तर, नागरिकता, मिडिया काउन्सिल, संघीय निजामती सेवालगायतका विधेयक भने संसदबाट पारित हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्