नेपालको संविधान विश्वकै अनुपम दस्तावेजः वरिष्ठ नेता नेपाल

काठमाडौं , असोज २ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएको दावी गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि आग्रह गरे ।

संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनमा सबैले समर्पित भएर लाग्ने बेला आएको पनि स्पष्ट पारे ।

संविधानमा व्यवस्था भए बमोजिम तल्ला तहका निकायहरुले कानुन निर्माण गर्न सक्ने–नसक्ने बहसको विषय भएपनि अहिले भने संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ ।

वरिष्ठ नेता नेपालले मुलुकलाई समृद्ध बनाउने संकल्पसहित आएको नेपालको संविधानलाई इमान्दारिताका साथ कार्यान्वयन गरेर अघि बढनुको विकल्प नरहेको पनि बताए । उनले संविधान सभाबाट संविधान जारी गरेर नेपालले विश्वमै गर्व गर्न लायक काम गरेको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्