नागरिकता विधेयक यथास्थितिमा पारित हुन नदिन सांसदहरुलाई देउवाको निर्देशन

काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकतासम्बन्धी विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधिन नागरिकतासम्बन्धी विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै विधेयकलाई पारित हुन नदिन सांसदहरुलाई निर्देशन दिएक हुन् ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति देउवाले विधेयकलाई पार्टीको अडान अनुसार संशोधन नगरी पारित हुन नदिन सांसदहरुलाई निर्देशन दिएको राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए । राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधिन नागरिकतासम्बन्धी विधेयकमा काँग्रेसका सांसदहरुले फरक मत राखेर अघि बढ्न दिएका छैनन् ।

विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने काँग्रेसले माग गरिरहेको छ । सभापति देउवाले पार्टीको सोही अडान नछाड्न समितिमा रहेका पार्टीका सांसदहरुलाई पनि सचेत गराएको पाण्डेले जानकारी दिए ।

संसदीय दलको बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धि विधेयक संसदबाट जब्बरजस्ती पारित गरेको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्