समाजलाई भड्काउने उच्छ्रिङ्खल गतिविधि बढ्न थाल्यो : पर्यटन मन्त्री भट्टराई

काठमाडौँ , भदौ ३१ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छ्रिङ्खल गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उच्छ्रिङ्खल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औँ प्राज्ञ सभाको मंगलबार काठमाडौँमा उद्घाटन गर्दै उनले समाजमा हुने अराजकता र उच्छ्रिङ्खल खालका गतिविधिले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा निम्त्याउने हुनाले त्यस्ता खालका गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने पनि स्पष्ट पारे ।

‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुन्छ’ मन्त्री भट्टराईले भने, ‘त्यस्ता खालका कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँढीलाई प्रशिक्षित गर्नुपर्दछ ।’

मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गराए । उनले विविधताले युक्त मुलुकलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यक्तामा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्