राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अाज सार्वजनिक गरिदै

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका आज सार्वजनिक गर्ने भएको छ । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।

माघ ७ देखि निर्वाचन हुने माघ २४ गतेसम्म लागु हुने गरी कार्यतालिका आज सार्वजनिक गर्न लागिएको आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिए । निर्वाचन कार्यक्रमसँगै आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताको समेत नामावली प्रकाशित गर्ने जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा कुल २ हजार ५६ मतदाता रहनेछन् । उनीहरुमध्ये गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयर गरी १ हजार ५ सय ६ तथा प्रदेश सभाका सांसद ५ सय ५० रहेका छन् ।

सरकारले प्रदेश प्रमुख नियुक्त नगरेकाले आयोगले प्रदेश सभाका समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न बाँकी छ । सरकारले प्रदेश प्रमुखको नियुक्ति गरे लगत्तै ती प्रमुख समक्ष नतिजा सिफारिस गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्