पत्रकार सम्मेलनस्थलमा ज्ञानेन्द्र शाहीमाथि हातपात, शाही प्रहरीको ‘सुरक्षा’मा

काठमाडौं , भदौ २८ । पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहार र सो घटना किन भयो भनेर आइतबार पत्रकार सम्मेलनमा ज्ञानेन्द्र शाहीमाथि हातपात भएको छ ।

ललितपुरको पुल्चोकमा नेपालका लागि नेपालीको कार्यालयमा आइतबार १ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित केही व्यक्तिहरुले शाहीमाथि हातपात गरेका हुन् ।

ज्ञानेन्द्र शाहीलाई पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुले सोधेको प्रश्नमा जवाफ दिन नचाहेपछि उनीमाथि हातपात भएको हो ।

ज्ञान बहादुर शाहीले किन ज्ञानेन्द्र शाही नाम लेखे, त्यसको उद्देश्य के हो भन्ने प्रश्न गर्दा उनले प्रचण्डले किन प्रचण्ड लेखे भनेर प्रतिप्रश्न गरे । बरु ज्ञानेन्द्र शाहीले उल्टै तपाईं कुन सञ्चारमाध्यमबाट हो भनी प्रश्न गर्न थालेपछि शाहीमाथि त्यहाँ उपस्थित व्यक्तिहरु आक्रोशित भएका थिए ।

आक्रोशित समूहले शाहीमाथि हातपात गर्न थालेपछि प्रहरीलाई शाहीलाई उद्धार गरेको छ ।

नेपालगञ्ज घटनाबारे पत्रकार सम्मेलन गरिरहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षा दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिदा नेपालगञ्जबाट काठमाडौं आउनु पर्ने विमान ढिलो भएपछि शाहीको समूहले विरोध गरेको थियो । त्यसक्रममा मन्त्रीहरुमाथि गालीगलौज समेत भएको थियो ।

आफ्ना कारण विमान उड्न करिव १५ मिनेट ढिला भएको भन्दै मन्त्रीले माफी मागेका छन् ।

तर मन्त्रीले झुट बोकेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’का अभियान्त समेत रहेका शाहीले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन राखेका थिए ।
ललितपुर प्रहरीका एसएसपी टेकबहादुर राईका अनुसार सुरक्षा खतरा भएपछि शाहीलाई उद्धार गरी प्रहरी कार्यालयमा राखिएको छ । राईका अनुसार शाहीको सुरक्षाका लागि पत्रकार सम्मलेनमा प्रहरी खटाइएपनि आयोजकले प्रहरीलाई भित्र पस्न नदिएको कारण घटना घट्न पुगेको बताए ।

सुरक्षा स्थिति हेरेर शाहीलाई छाडिने पनि उनले बताए ।

यता अधिवक्ता सुरेन्द्र भण्डारीले भने पत्रकार सम्मेलनमा उपस्थित योगेश भट्टराईनिकट कार्यकर्ताको झुण्डले शाहीमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।


शाहीको उद्धारपछि भएको पत्रकार स्ममेलनमा बोल्दै अधिवक्ता भण्डारीले यस घटनामा पर्यटनमन्त्री भट्टराईले माफी नमागे आफूहरुले राजीनामा माग गर्ने पनि बताए ।

भण्डारीका अनुसार प्रहरीले गुण्डागर्दी शैलीमा शाहीलाई पक्राउ गरी लगेको छ ।

तर शाहीको उद्धारपछि सञ्चारकर्मीसँग बोल्दै घटनास्थलमा खटिएका एकजना प्रहरी निरीक्षकले भने सुरक्षा खतराबारे पहिले नै शाहीलाई जानकारी गराएपनि शाहीले प्रहरीको आग्रहलाई वेवास्ता गर्दा घटना भएको हो । घटनामा ती प्रहरी आधिकारी पनि सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्