सरकार जनताको काम गर्न कटिबद्ध छः अध्यक्ष प्रचण्ड

काठमाडौं, भदौ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् ।

इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको उनले उल्लेख गरे ।

साथै अध्यक्ष प्रचण्डले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुने बताउदै नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने तर्क गरे । अध्यक्ष दाहालले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्नेमा जोड दिए ।

उनले आफ्नो उद्देश्य अन्तर्रा्ष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्रा्ष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए । “म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु”, उनले थपे, “कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।”

अध्यक्ष दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए ।

उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको उनको भनाइ रहेको थियो ।

संविधान निमार्ण संगै नेपालले आर्थिक तथा विकासका कार्यले गति लिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्