नेकपाले सुदुरपश्चिमका ८८ वटै तहमा पार्टी एकताको टुङ्गो लगायो

काठमाडौं, भदौ २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा एकताको टुङ्गो लगाएको छ।

नेकपाका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावल, स्थायी कमिटि सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापा लगायतको उच्च स्तरिय कार्यदलले धनगढीमा भदौ २५ र २६ गते निरन्तर छलफल गरी सुदूरपश्चिममा सम्पूर्ण पार्टी एकताको काम सम्पन्न गरेको नेकपाद्वारा शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

धनगढी स्थित नेकपाको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज रावलले सौहार्द वातावरणमा पार्टी एकताको काम टुङ्गयाइएको बताउँदै रावलले भागवण्डा भन्दा पनि योगदान र क्षमताका आधारमा सम्पूर्ण स्थानीय तहको नेतृत्व चयन गरिएको दाबि गरे ।
सो क्रममा उनले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई एकताबद्ध भएर पार्टी कार्यमा लाग्न निर्देशन दिए।


उनले पार्टी एकीकृत भइसकेको बेला कार्यकर्ताहरुलाई देशको राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, विकास र समृद्धिका लागि दृढतापूर्वक एकता बद्ध भएर अगाडि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गरे।

उनले भने–‘सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ, अब भातृसंगठन एकीकरणको कामपनि छिट्टै टुंगो लगाइने छ।’ उनले जिल्ला, नगरपालिका तथा गाउँपालिकामा कमिटी निर्माण भइसकेकोले विकास निर्माणका काममा सघाउन र पार्टीका राम्रा गतिविधिलाई जनस्तरसम्म लैजान आग्रह गरे।

पत्रकार सम्मेलनमा ईन्चार्ज रावल संगै नेकपा सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी लगायतको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्