५ देशबाट आएका पाहुनाले गरे इन्द्रजात्राको अवलोकन, राष्ट्रपति आउनु अघि २४८ थान कालो टिसर्ट बरामद
काठमाडौं, भदौ २७ । ५ देशबाट आएका पाहुनाले गरे इन्द्रजात्राको अवलोकन गरेका छन् ।
काठमाडौंको परम्परागत पर्व इन्द्रजात्रामा पहिलोपटक विदेशी पाहुनाहरु सहभागी भएका हुन् ।
काठमाडौं महानगरपालिकाको निम्तोमा आएका ५ देशका पाहुनाले इन्द्रजात्रा अवलोकन गरेका हुन् ।
उनीहरुले शुक्रबार पदयात्रा गरी काठमाडौंको पुरानो भित्री शहरका विभिन्न स्थानहरू भ्रमणसमेत गरका छन् ।
पदयात्रा अघि उनीहरूलाई हनुमानढोका दरवार क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत विभिन्न पदाधिकारीहरूले स्वागत गरेका थिए ।
अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीलगायत चीन, भारत, अमेरिका, भूटान र जापानका दश शहरबाट नेपाल आएका पदाधिकारीहरू सहभागी रहेका थिए । भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह भने शुक्रबारै नेपाल आएका कारण पछि मात्रै सहभागी भए ।
त्यस्तै चीनको ल्हासाका मेयर गुहेओ गुहेओ पनि दूतावाससँगको विशेष छलफलमा सहभागी भएका कारण भ्रमणमा सहभागी भएनन् । त्यस्तै बंगलादेशको दक्षिणी ढाका नगरपालिकाका मेयर मोहम्मद सयीद खोकनले आफू डेंगु विमारीका कारण आउन नसकेको भन्दै सन्देश पठाएका थिए ।
काठमाडौंको हनुमानढोका दरवार क्षेत्रबाट शुरु भएको उक्त अवलोकन पदयात्रा काठमाडौंको पुरानो झोछेँ टोल हुँदै नःबही, मञ्जुश्रीनक महाविहार (बिकमा बहाः), थानबहाः, भिमसेनको मन्दिर, काष्ठमण्डप, सिँल्यं सतः, माजु देगः, मरु देगः, मरुहिटी, यट्खा बहाः, इतुम्बहाः, जनबहाः, आकाश भैरव, स्वेत भैरव हुँदै हनुमानढोका दरवार क्षेत्रमा टुंगिएको थियो ।
पदयात्राका क्रममा पाहुनाहरुको स्वागतका लागि अघि–अघि परम्परागत धिमे बाजा र धुन्याको समेत व्यवस्था गरिएको थियो । विदेशी पाहुनाहरूको उक्त पदयात्रालाई विभिन्न ठाउँमा स्थानीयले सगुन, फूल, अक्षता र टीका प्रदान गरी स्वागत गरिएको थियो । विभिन्न ठाउँमा स्थानीय परम्परा अनुसार स्वागत गरिएको थियो ।
चीनको लाञ्चाउबाट कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ्, चीनको सियान, छेन्दु, सेञ्जेन र नान्जिन, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरका ४ मेयरसहित ४१ जना इन्द्रजात्रा अवलोकनका लागि नेपाल आएको छ ।
यसैबिच प्रहरीले बसन्तपुर क्षेत्रबाट पक्राउ परेकाहरु विरोध प्रदर्शन गर्ने तयारीमा रहेको बताएको छ । इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुर आउने समयअघि नै उनीहरु प्रदर्शन गर्न लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गर्न लागेकाहरु पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर बरामद गरेको छ । टिसर्टमा नेवारी भाषामा विभिन्न नारासमेत लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्