कांग्रेस कुट्नेलाई कारवाही हुने गृहमन्त्री थापाको प्रतिवद्धता, आक्रमणको विरोधमा प्रदर्शन गर्ने कांग्रेसको घोषणा
काठमाडौं, भदौ २६ । बाँकेको खजुरामा नेपाली कांग्रेसका नेता–कार्यकर्तामाथि कुटपिट गर्ने दोषीलाई कारवाही गरिने गृहमन्त्री रामबहादुर थापाले प्रतिवद्धता जनाएका छन् ।
साथै, यो घटनालाई लिएर कम्युनिष्टले कांग्रेसलाई पिटेको भन्ने अर्थमा फेसबुकबाट प्रचारबाजी गरेर चरित्र हत्या नगर्न गृहमन्त्रीले विपक्षीलाई आग्रह गरेका छन् ।
बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार कांग्रेसका नेता कार्यकर्ताहरु कुटिएका थिए ।
घटनामा बाँकेकी कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका कांग्रेसले जनाएको छ ।
यो घटनालाई लिएर कांग्रेसले विरोध प्रदर्शनका कार्यक्रमसमेत घोषणा गरिसकेको छ । माइतीघर मण्डलामा प्रदर्शन गर्नेदेखि गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेसम्मका कार्यक्रम कांग्रेसले सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्