काठमाडौँमा ‘अन्तर्राष्ट्रिय मानवअधिकार सम्मेलन’ हुने

काठमाडौँ । ‘दक्षिण एशियामा मानवअधिकारको अवस्था र दण्डहीनताको अन्त्य’ विषयमा काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आगामी चैत २६ देखि २८ गतेसम्म सम्मेलन हुने भएको हो । सम्मेलनमा दक्षिण एशियाको मानवअधिकारको अवस्था र दण्डहीनताका बारेका विभिन्न पाँचवटा कार्यपत्र प्रस्तुत गरिने आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।

सम्मेलनमा दक्षिण एशियाली सहयोग संगठन (सार्क) सहित वर्मा, फिलिपिन्ससहित अन्य राष्ट्र पनि पर्यवेक्षकका रुपमा आउने भएको उनले जानकारी गराए । काठमाडौँको याक एण्ड यति होटलमा हुने सम्मेलनमा विदेशबाट करिब ४५ जनाको सहभागिता हुने भएको छ ।

यसैबीच, आयोग र दातृ निकाय संस्था गभर्नेन्स फेसिलिटी नेपालबीच सम्मेलनमा सहकार्य गर्नका लागि आज सम्झौता भएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्मा र फेसिलिटी नेपालका तर्फबाट कार्यक्रम प्रमुख क्यारोलिन भन्डेनाविलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरका क्रममा आयोगका अध्यक्ष शर्माले सम्मेलनले नेपाल सुधारोन्मुख प्रजातान्त्रिक प्रक्रिया र दण्डहीनताको अन्त्यका लागि क्रियाशील रहेको छ भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमा पु¥याउन मद्दत मिल्ने बताए ।

गभर्नेन्स फेसिलिटी नेपालका कार्यक्रम प्रमुख भन्डेनाविलीले आयोगसँगको सहकार्यमा आयोजित यस सम्मेलनले नेपालमा दण्डहीनतालाई सम्बोधन गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा समेत आयोगसँग सहकार्य गरी अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्