रौतहट तनावग्रस्तः स्थानीयबीच झडप हुँदा प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

कठमाडौं, भदौ २६ । प्रहरीले रौतहटको राजपुरमा हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ।

राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयहरूबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

झडप नियन्त्रणबाहिर गएपछि स्थिति नियन्त्रणमा लिन दिउँसो करिब २ बजेतिर प्रहरीले केही राउन्ड हवाइफायर र २८ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएको छ ।

कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले गाडेको झन्डा उखेलेको विषयमा विवाद उत्पन्न भएको थियो। विवादले उग्ररुप लिँदै झडपमा परिणत भएको थियो।

स्थानीयहरूकै दुई पक्ष बीच झडपका क्रममा प्रहरीको गाडीमाथि पनि ढुंगामुढा गरिएको थियो।

झडपका कारण कुडियाबजार क्षेत्र अझसम्म तनावग्रस्त छ भने सम्भावित अप्रिय घटना रोक्नलाई त्यस क्षेत्रमा डीएसपी नवीन कार्कीको नेतृत्वमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ।

समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस्