डेंगुको महामारीबारे यथाशिघ्र संसद्लाई जानकारी गराउन सभामुखको निर्देशन
काठमाडौं , भदौ २६ । प्रतिनिधिसभाले डेंगुको प्रकोपबारे यथाशिघ्र जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
सभामुख कृष्णबहादुर महराले बिहीबारको बैठकमा शून्य समय सकिएलगत्तै सरकार र स्वास्थ्य मन्त्रालयलाई यस्तो निर्देशना दिएका हुन् ।
“केही दिनदेखिको हाम्रो नियमित बैठकमा र विशेषगरी आजको बैठकमा डेंगुको महामारीका सम्बन्धमा माननीय सदस्यहरुले कुरा उठाउनुभएको छ । यससम्बन्धमा म सरकार र स्वास्थ्यमन्त्रीलाई विशेष ध्यानाकर्षण गराउँछु,” सभामुख महराले भने, “साथै यस विषयमा सदनलाई यथाशिघ्र जानकारी गराउन निर्देश गर्दछु । ”
केही दिनयता डेंगुको महामारी फैलिए पनि नियन्त्रणमा आउन नसकेको भन्दै सांसदहरुले बैठकमा कुरा उठाउँदै आउका छन् । डेंगु नियन्त्रणमा सरकार असफल भएको भन्दै उनीहरुले सरकारको आलोचना समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्