एउटै मञ्चबाट मुख्यमन्त्रीहरुको आग्रह : आफ्नो प्रदेशमा लगानी गर्नुहोस्

काठमाडौं , भदौ २६ । ६ वटा प्रदेशका मुख्य मन्त्रीहरुले एउटै मञ्चबाट आफ्नै देशमा लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिन ६ वटा प्रदेशका मुख्य मन्त्रीहरुले एउटै मञ्चबाट यस्तो आग्रह गेका हुन् ।

साथै उनीहरुले पूर्वाधारमा लगानी बढाउनुपनमा पनि जोड दिनु पर्ने बताएका छन् । लगानीका लागि आवश्यक सम्पूर्ण नीतिनियम र पूर्वाधारको विकास गर्न आफूहरु तयार रहेको बताए ।

गण्डकीबाहेक सबै प्रदेशका मुख्यमन्त्रीहरुले एउटै मञ्चबाट यस्तो प्रतिबद्धता जनाएका हुन् ।


यसैबिच कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशमा कृषि, पूर्वाधार, ऊर्जा, औद्योगिक क्षेत्र, स्याटेलाइट सीटी, स्मार्ट सीटी, अन्तर्रा्ष्ट्रिय सभाहल, पदमार्ग, केवलकार लगायतका पूर्वाधार निर्माण गर्ने बताए ।

उनले प्रदेश १ का गेमचेञ्जर आयोजनाहरु पहिचान भइसकेको र त्यस्ता परियोजना कार्यान्वयनका लागि अन्तरराष्ट्रिय संघसंस्था र लगानीकर्तालाई ती आयोजनामा लगानी गर्न आग्रह समेत गरे ।

आफ्नो प्रदेशले औद्योगिक पार्क निर्माणका लागि ८ हजार ६ सय विगाहा जमीन तयारी अवस्थामा राखेको र यसलाई चाँडै नै लगानीका लागि खुला गर्ने उनले प्रस्ट पारे ।

यस्तै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतले निजी क्षेत्रको लगानी बिना मुलुकको विकास असम्भव रहेको बताँउदै प्रदेश २ मा विविध उल्झनका कारणले विकास हुन नसकेको र त्यस्ता कमीकमजोरी प्रदेश सरकारले पहिचान गरिसकेकोेले त्यस्ता समस्या सम्बोधन गर्नेगरी भावि योजना र कार्यक्रम तयार पारिरहेको बताए ।

उनले उद्योग, पर्यटन र कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको र सोही अनुसार नीति नियम तर्जुमा गर्ने तयारी भइरहेको प्रस्ट पारे ।

मन्त्री राउतले ३ घण्टाभित्र उद्योग दर्ता गरिसक्ने गरी कानुन ल्याउन अन्तिम तयारी गरिरहेको जानकारी दिए । आफ्नो प्रदेशको विकासका लागि केन्द्र र स्थानीय तहसँग सहकार्य गर्न आफू तयार रहेको भन्दै उनले औद्योगिक प्रतिष्ठानहरुलाई २० वर्षसम्म कर छुट दिने बताए ।

यता प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा निजी क्षेत्रको लगानीका लागि सबैकुरा सुधार गर्न आफू तयार रहेको बताए ।

प्रदेश ३ ले उद्योग, कृषि, विद्युत् लगायतका क्षेत्रको विकासमा जोड दिएकाले यसैअनुसार नीतिनियम तर्जुमा गरिसकेको उनले जानकारी दिए । प्रदेश ३ सार्वजनिक निजी साझेदारीमा परियोजना निर्माण गर्न तयार रहेको र यसमा सहकारी संस्थाहरुलाई समेत सँगसँगै लान आफूहरुले नियम बनाउन लागेको बताए ।

यसैगरि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रलाई आकर्षित गर्न कानूनी सुधारको प्रक्रिया अघि बढाएको बताए । अवको ३ वर्ष्भित्रमा प्रदेश ५ मा ७५० अर्बको निजी लगानी हुने अपेक्षा गरेको भन्दै उनले त्यसका लागि प्रदेश स्तरमा समेत लगानी सम्मेलन गर्ने योजना रहेको बताए ।

उनले आफ्नो प्रदेशमा १५ सय विगाहा जमीन औद्योगिक पार्कका लागि तयारी अवस्थामा राखेको समेत प्रष्ट पारे । प्रदेश ५ को सरकारले औद्योगिक क्षेत्र, कृषि, पर्यटनमा जोड दिएको भन्दै उनले आफ्नो प्रदेशको समृद्धिको आधार पनि यसैलाई राखेको प्रस्ट पारे । प्रदेश ५ लाई सूचना प्रविधिको हब बनाउने योजना रहेको उनले बताए ।

यसैबिच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजी क्षेत्र आकर्षित गर्न कानून बनाइरहेको हुँदा आफ्नो प्रदेशमा लगानी गर्न राम्रो वातावरण सिर्जना हुने बताए । साथै कर्णाली प्रदेशलाई अर्गा्निक प्रदेश घोषणा गर्ने अन्तिम तयारीका लागि जुटिरहेको बताए ।

उनले कृषिजन्य उत्पादन, फलफूल, माछापालन र जडिबुटीजस्ता क्षेत्रमा आफ्नो प्रदेश अब्बल रहेको भन्दै यिनै उत्पादनलाई प्रबद्र्धन गर्ने योजना बनाइरहेको प्रस्ट पारे । सडक मार्गमा पहुँच कम भएका कारण सुर्खेतलाई अन्तरराष्ट्रिय स्तरको विमानस्थल बनाउन गुरुयोजना बनाउने तयारीमा रहेको बताए ।

यसैगरि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउँदै निर्यातजन्य उद्योग खोल्न लगानीकर्तालाई आग्रह गरे । सुदूरपश्चिम प्रदेश जलस्रोतको प्रचूर सम्भावना भएको प्रदेश भएकाले जलस्रोतमा लगानी गर्न पनि उनले आग्रह गरेका छन् ।

जडीबुटीको ठूलो उत्पादन हुने भएकाले औषधि कम्पनी खोल्नका लागि समेत लगानीकर्तालाई उनको आग्रह छ । यसका प्रदेश सरकारले जग्गा, कानूनी र सुरक्षाको समेत प्रत्याभूति गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्