राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र आयरल्याण्डका सभामुख सेनबीच भेटवार्ता
काठमाडौं, भदौ २५ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेलबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले बुधबार अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित अध्यक्षकै कार्यकक्षमा भेटवार्ता गरेको हो ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संरचनाबारे बताउँदै संघीय संसदको गठन तथा कानुन निर्माणबारे जानकारी गराए ।
तिमिल्सिनाले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले उल्लेख्य संख्यामा आयरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो गरे ।
उनले हाल आयरल्याण्डबाट वार्षिक करिब तीन हजार पर्यटक नेपाल आउने गरेको भन्दै अब त्यो संख्या ३० हजार पुग्ने विश्वास व्यक्त गरे ।
आयरल्याण्ड सानो मुलुक भए पनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने आश्वासन दिएको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्