प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन खर्च विवरण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले दुई चरणमा भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन खर्च विवरण सार्वजनिक गरेको छ।
आयोगले २०७४ पुस २१ गते सम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ रुपैया खर्च भएको जनाएको छ। यो कुल निर्वाचन बजेटको ५७.९६ प्रतिशतामात्र हो।

जसमा ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ ७७ जिल्लाहरूमा खर्च भएको छ भने ७६ करोड ६ लाख ७८ हजार ६९१ रुपैयाँ आयोगको केन्द्रीय कार्यालयबाट खर्च भएको हो।

आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाल सरकारबाट १० अर्ब रुपियाँ पाएको थियो। जसमध्ये ३० करोड रुपियाँ पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो भने ९ अर्ब ७० करोड रुपियाँ निर्वाचन कार्यका लागि छुट्टाइएको थियो।

बाँकी रहेको ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७०० रुपौयाबाट राष्ट्रिय सभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाएको आयोगले जनाएको छ।

निर्वाचनमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो भने ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएका थिए। निर्वाचन सम्पन्न गराउन १६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका थिए।

आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गर्दै मितव्ययी तथा पारदर्शीरूपले खर्च  गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्