तालीवानसँगको वार्ता रद्द गर्ने ट्रम्पको घोषणा
काठमाडौं, भदौ २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा जारी तालिवानी समूहसँगको वार्ता रद्द गरेको घोषणा गरेका छन्।
अफगानिस्तानमा हालै भएको आक्रमणको जिम्मा तालिबानी समूहले लिएपछि राष्ट्रपति ट्रम्पले तालीवानी नेतासँगको वार्ता रद्द गरेको बताएका छन् ।
शृंखलाबद्ध ट्विट गर्दै ट्रम्पले अफगानिस्तानमा जारी शान्ति वार्ता रोकेको र तालिवानका मुख्य नेताहरुसँगको गोप्य वार्ता रद्द गरेको घोषणा गरेका हुन्।
यसअघि राष्ट्रपति ट्रम्पले तालीवानी नेताहरुसँग मेरिल्यान्डस्थित क्याम्प डेभिडमा गोप्य वार्ता गर्ने कार्यक्रम तय गरेका थिए । सो वार्ता भंग भएपनि राष्ट्रपति ट्रम्पले अफगानिस्तानका राष्ट्रपतिसँग भने भेट्ने योजना रहेको बताएका छन्।
‘मैले तत्कालै भेटवार्ता रद्द गरेँ र शान्ति वार्ता रोकेँ,’ ट्रम्पले शनिबारको ट्विटमा भनेका छन्, ‘यदि महत्वपूर्ण शान्ति वार्ताका क्रममा पनि उनीहरुको युद्वविराम गर्दैनन् र अझैँ १२ जना निर्दोष मार्छन् भने उनीहरुसँग अर्थपूर्ण सहमति गर्ने सामर्थ्य छैन।’
तर, अमेरिका र तालिबानबीचको वार्ता स्थायी रुपमै रोकिएको हो वा अस्थायी मात्रै हो भन्ने स्पष्ट भइसकेको छैन।
राष्ट्रपति ट्रम्प अफगान सरकार, राजनीतिज्ञ र तालिवानलाई विश्वास नगर्ने र सम्झौताअघि नै अमेरिकी फौज फिर्ता गर्नुपर्छ भन्ने मत राख्ने उनकै प्रशासनका केही सदस्यका कारण दबाबमा छन्।
अघिल्लो साता तालिवान र अमेरिका अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सम्झौतामा प्रारम्भिक सहमतिमा पुगेका थिए।
प्रस्तावित सहमतिको मस्यौदामा अमेरिकाले ५४ सय सेना २० साता भित्र फिर्ता लिने र तालिवानले अफगानिस्तानलाई कहिले पनि प्रयोग नगर्ने उल्लेख थियो।
अफगानिस्तानमा अहिले १४ हजार अमेरिकी सेना परिचालित छन्। काबुलमा बिहीबार मात्रै भएको आक्रमणमा परी १२ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्