दशैंमा दुई सय नयाँ बस थपिने

काठमाडौं , भदौ १९ । दशैंमा यो वर्षको लामो दुरीका लागि करिब २ सय नयाँ बसहरु थपिने भएका छन् ।

हरेक वर्ष दशैंमा लामो दुरीका सवारी साधनमा यात्रुको चाप अत्यधिक बढ्छ । यसैलाई लक्ष्यित गर्दै व्यवसायीले दशैंका लागि बसहरु थप्ने गर्छन् ।

सार्वजनिक सवारीसाधन सबैभन्दा धेरै किनिने समय यही हो । दशैंमा थपिने नयाँ बसहरु प्रायः काठमाडौं आउजाउ गर्नका लागि नै हुन्छन् । अन्य राजमार्गका विभिन्न शहर र ग्राहमीण रुटमा पनि केही नयाँ बसहरु आउँछन् ।

थपिने बसहरुको ‘बडी’ हाल विभिन्न ग्यारेजहरुमा निर्माणाधीन छन् भने कतिपय तयार भएर सरकारसँग रुट इजाजत लिने प्रक्रियामा छन् ।

सबै यातायात कार्यालयबाट प्राप्त तथ्यांकलाई आधार मान्दा दशैंमा करिब २ सय बस थपिन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

विगतका दशैंहरुमा देशभर झण्डै ५ सय सार्वजनिक बस थपिन्थे । तर, यातायात व्यवसायीका अनुसार गत वर्षदेखि नै दशैंमा थपिने बसको संख्या भने घटेको छ ।

व्यवसायीले विगतदेखि नै दशैंमा चलाउने गरी बस किन्ने गरेका छन् । सुरुवातमै राम्रो कमाई गर्ने ध्येयले उनीहरुले यो समय रोज्ने गर्दछन् ।

तर, अहिले व्यवसायीहरु नयाँ बस किन्न हौसिने अवस्था नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ । उनका अनुसार यसपटक धेरै व्यवसायीहरुले बस खरिद गर्न चासो देखाएका छैनन् ।

यातायात व्यवसायीहरुले यो वर्ष नयाँ बस नथपिनुमा तीन कारण औंल्याएका छन् । महासंघका अनुसार राष्ट्र बैंकले अटो ऋणको सीमा बढाउँदा त्यसको ठूलो प्रभाव सार्वजनिक यातायात विस्तारमा परेको छ ।

सार्वजनिक सवारीलाई निजी सवारीकै डालोमा हालेर एउटै नीति लिँदा समस्या भएको महासचिव सिटौलाको दाबी छ ।

हरेका वर्षको दशैंमा नयाँ बसहरु थपिने गर्दछन् । विभिन्न जिल्लाका मानिसहरु आफ्नो कर्म थालो बनाएर बसेका दशैंमा भने घर जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्