वीरगञ्जमा चल्यो गोली, एक घाइते, हतियार समेत बरामद
काठमाडौं, भदौ १८ । पर्साको वीरगञ्जमा गोली चलेको छ। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका १३ राधेमाई चोकबाट प्रहरी टोलीले गोली प्रहार गरी फुल हसन अन्सारी समूहका सदस्य सन्तोष दास तत्मा उर्फ सत्यराज योगीलाई नियन्त्रणमा लिएको हो।
चोकमा चेकप्वाइन्ट खडा गरी चेकजाँचमा खटिएको प्रहरी टोलीमाथि राती १० बजे पैदल आएका योगीले प्रहरीलाई हतियारले ताकेर भाग्न खोजेपछि प्रहरीले जवाफी कारवाही गरेको थियो।
जवाफी कारवाहीमा प्रहरीले चलाएको गोली योगीको दाहिने घुँडामा लागेको थियो। गोली लागेर घाइते उनलाई तत्कालै नारायणी अस्पताल लगिएको थियो।
प्रहरीले उनको साथबाट म्याग्जिनसहित टाइप ५४ मोडेलको एक थान पेस्तोल, १७ राउण्ड गोली र खैरो रंगको १७० ग्राम लागुपदार्थ बरामद गरेको छ।
प्रहरीका अनुसार योगी यसअघि पनि २०६४ सालमा हातहतियार मुद्दामा पुर्पक्षको लागि जेल चलान भएको र ०६६ कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ५ महिना १० दिन कैदन सजाय भुक्तान गरेका व्यक्ति हुन्।
उनले त्यतिबेला पशुपति रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेको गोली प्रहार गरी हत्या गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय विभिन्न अपराधिक घटनामा पनि गोली चल्ने गरेको छ । प्रहरीले यस्ता घटनालाइ लिएर विभिन्न समयमा गोली चल्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्