सुन्दर यातायातले ल्यायो चार्जिङ स्टेशन सञ्चालनमा

काठमाडौं, भदौ १८। काठमाडौंमा निजि क्षेत्रबाट पहिलो पटक विद्युतीय सवारीसाधन चार्जका लागी चार्जिङ स्टेसनको सुरुवात भएको छ ।

सुन्दर यातयातले चार्जिङ स्टेसन सञ्चालनमा ल्याई विद्युतीय बस चलाउने भएको हो ।

मंगलबार ऊर्जा सचिव दिनेश कुमार घिमिरे र सुन्दर यातयातका अध्यक्ष्य भेष बहादुर थापाले चार्जिङ स्टेसनको संयुक्त उद्घाटन गरेका हुन् ।

सुन्दर यातयातले आगामी २३ गतेबाट काठमाडौं भित्र गुड्ने गरि ४ वटा विद्युतिय सवारी चलाउने तयारी गरिरहको जनाएको छ ।

चार्जिङ स्टेसनको उद्घाटन गर्दै ऊर्जा सचिव घिमिरेले देश अब विद्युतमा आत्मनिर्भर हुदै गएकोले विद्युतिय बस सञ्चालन गर्ने सरकारको पनि प्रमुख उद्देश्य रहेको बताए ।

सरकारले सार्वजनिक निजि साझेदारी अनुसार पनि विद्युतिय बस सञ्चालन गर्ने पहल गर्ने उनको भनाई छ ।

सरकारले ब्यहोरिरहेको व्यापार घाटा न्युनिकरण गर्नका लागी विद्युतिय सवारी तथा उपकरण प्रयोगमा सरकारले जोड दिएको उनको भनाइ छ ।

सुन्दर यातयातले हाल १ वटा मात्रै बसमा चार्ज गर्न मिल्ने किसिमको ३० किलोवाट क्षमताको चार्जिङ स्टेसनको सुरु गरेको हो भने आगामी दिनमा ४ वटा सम्म गाडी चार्ज गर्न मिल्ने १ सय २० किलावाटको क्षमतासम्मको स्टेसन स्थापना गर्ने लक्ष्य लिएको छ ।

सरकारले सार्वजानिक सवारीको लागी अन्य ठाँउहरुमा पनि चार्जिङ स्टेसन राख्नको लागी अनुमति दिएमा अन्य स्थानमा पनि विस्तार गर्ने लक्ष्य लिएको अध्यक्ष्य थापाले बताए ।

गाडी एकपटक चार्ज गरेपछि २ सय ६८ किलोमिटर सम्म गुड्ने जनाइएको छ । कम्पनीले ३ महिना भित्र काठमाडौं उपत्यकामा १५ वटा विद्युतिय बस गुडाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्