गौहत्या प्रकरणः गृहमन्त्रालयद्वारा छानबिन समिति गठन (विज्ञप्तिसहित)

काठमाडौं, भदौ १४ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित जंगलमा २४ गाईगोरु मृत फेला परेको विषयमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिकाले काञ्जी हाउसमा रहेका ३७० गाईगोरुलाई सुर्खैत हुँदै दैलेखको श्रीस्थान लैजान लागेको तर वीरेन्द्र नगरको जंगलमा मृत र घाइते अवस्थामा फेला परेको जानकारी आएको जनाएका छन् ।

विज्ञप्तिमा घटनास्थलमा गाईगोरु छाडेर फर्किँदै गरेका ५ वटा ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पनि उल्लेख गरिएको छ।

मन्त्रालयले घटनाबारे छानबिन गर्न गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्सीय छानबिन समिति गठन गरिएको जनाएको छ। समितिलाई १५ दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ ।

मन्त्रालयले गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने पनि स्पष्ट पारेको छ । छानबिनबाट कुन व्यक्ति, पदाधिकारी एवम् निकायको संलग्नता रहेको भन्नेबारे खुल्ने मन्त्रालयले विश्वास लिएको छ।

यसैबिच वीरेन्द्रनगर नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत गाई–गोरुको सङ्ख्या ३० पुगेको छ । परीक्षण रिर्पोटपछि मात्र गाईको हत्या भए–नभएको यकिन हुने प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी ती गाई पठाइएको थियो ।

यसैबिच सुर्खेत प्रहरीले पाँच ट्रकका चालक र सहचालक गरी सात जनालाई शुक्रबारै नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिसकेको छ । मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षी सम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्